सामाजिक संजाल सदुपयोग र दुरुपयोगको सवाल

नेपाल आज

गत वर्षदेखि नै विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (Covid-19) का कारणले हामी आज अत्यन्तै जटिल र विषम परिस्थितिमा छौँ । कोरोनाकै कारण नेपालमा पनि ठुलो धनजनको क्षति हुनुको साथै स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमा पुग्नगएको क्षतिले हामी सबैलाई मर्माहत तुल्याएको छ भने अर्कातिर दिनप्रतिदिन मानवीय क्षति समेत भइरहेको छ । संक्रमितको संख्या दैनिक उकालो लागेको छ । संक्रमित बिरामीहरूले अक्सिजन, औषधि, बेड लगायत सामान्य स्वास्थ्य सुविधा पनि अस्पतालबाट पाउन सक्ने अवस्था छैन । मृत्युलाई अगाडि देख्दा पनि बिरामी निरीह भएर उपचारका अभावमा छट्पटाइ रहेको अवस्था छ । संक्रमितहरूको आफ्नै पिडा र बाध्यता छ तर उनीहरूका लागि उपयुक्त स्वास्थ्य सम्बन्धि साधन र प्रयाप्त औषधि छैन । सरकारसंग पुर्ब तयारीको निम्ति प्रशस्त समय थियो । तर सत्ता र शक्तिको छिनाझपटीमा सरकार अल्मलिंदा मूख्य दायित्वबाट सरकार च्यूत भयो, जनताको नजरमा सरकार गि¥यो । यस्तै विषयमा अल्झिदा अहिले स्वास्थ्यको दृष्टिले संकटपूर्ण अवस्थामा पुग्यो । महामारीको त्रासदीपूर्ण कारणले नागरिकहरू घरभित्रै बस्न बाध्य हुनुपर्यो । प्रायजसो घरबाहिर बस्ने बानी परेकोले घरमा समय बिताउन गाह्रो भएको छ । यो बेला मानिसहरू अन्य काम गर्नुको सट्टा सामाजिक संजालको दुरूपयोग गरिरहेका छन् । सामाजिक संजाल जस्तै फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि आज आएर हाम्रो जिवनका अभिन्न अङ्ग बनेका छन्  तर सामाजिक संजालको सदुपयोग कसरी गर्ने र किन गर्ने भन्ने कुरा बुज्न जरुरी छ । नेपाल जस्तो थोरै जनसंख्या भएको मुलुकमा सामाजिक संजालका प्रयोगकर्ता एक करोडको  हाराहारीमा छन् र यो क्रम निरन्तर बढ्दो छ । वर्तमान परिवेशमा सामजिक संजालको प्रयोगले ब्यक्तिलाई एकांगी बनाएको छ । असमाजिक बनाएको छ ।

हाल कोरोना महामारीको दोस्रो लहर चलिरहँदा केही  मानिसहरू त्रसित र मृत्युको दोसाँधमा छट्पटाइरहेको बेला छ भने केही ब्यक्तिहरू सामाजिक संजाल मार्फत आतंक मच्चाइरहेका छन् ।  यसो गर्नुको सट्टा  कोरोना जितेर आफुले बिरामी अवस्थामा भोगेका र अनुभव गरेका विषयमा केन्द्रीत रहेर आफू बाच्न सफल भएको कुरा अरुमापनि पुर्याउने बानी बसालौं ता कि तपाईंको सकारात्मक कुराले बिरामीलाई हौसला मिल्नेछ ।  २०७८ साल जेठ ९ गते पनि यस्तै अपत्यारिलो खबर हास्य टेलिसिरियल “हल्का रामाइलो” का चर्चित कलाकार बल्छी धुर्बे ( मरिचमान श्रेष्ठ ) को कोरोनाको कारण निधन पूरा पढ्नुहोस्  भनेर सामाजिक संजालमा एकाएक  मिडियाले  पोस्ट गर्यो र श्रद्धाञ्जली दिनेको ओइरो लाग्यो । तर यो खबर  झुटो भएकाले कलाकार बल्छिले त्यही दिनमै लाइभमा जोडिएर आफ्नो घटना नभएको र आफू सकुशल रहेको यही सामाजिक संजाल बाट जानकारी गराएका थिए। त्यसको केही दिन लगतै अर्का लोकप्रिय गायक पशुपति पराजुलीको पनि एउटा “म मरें भने” बोलको  गितमा गरिएको सुटिङको फोटोलाई लिएर कोरोनाको कारण पशुपती पराजुलीको यो हालत भनेर सामाजिक संजाल मार्फत पोस्ट गरिएको थियो । त्यस्तै अर्का विवेकशील पार्टीका नेता उज्वल थापाको फोटो राखेर  निधन प्रति श्रद्धाञ्जलीको प्रचार गर्ने र मानवीय संबेदनामा खेल्ने पात्रहरू पनि धेरै देखिएका छन्  भने अर्कातिर कुनै पत्रकार  महोदयहरू भ्रममा नपरौ यो खबर झुट हो भन्दै  मानवीय भावना पनि  देखाएका छन् । यसरी अनुमती बिना र सोच बिचारै नगरी अरुको ब्यक्तिगत जीवनमा असर पुर्याउने काम जो कोहिले नगरौं । मेरो यो लेखबाटै पत्रकार महोदयहरू प्रति विनम्र अनुरोध छ । कसैको व्यक्तिगत जीवनमा हानी हुनपुग्ने झुटा समाचारहरू विलकुल पोस्ट नगरौं । मृत्यु जो सुकैको होस्  यो संबेदनशील घटना हो । ब्यक्तिको मृत्यु हुन नपाइ मृतकका आफन्त साथिभाइहरूले मृतकका आफन्तको सहमति बिना सामाजिक संजाल मार्फत खोजी खोजी फोटो राखेर श्रद्धाञ्जली दिन हतारो गर्छन् ।

सूचना सही हो कि गलत भन्ने सोच्दैनसोची सेयर गर्न समाजका पढेलेखेका वर्गका ब्यक्ती समेत अगाडि सर्नु उदेक लाग्दो विषय हो । सामाजिक संजालका धेरै नेपाली  प्रयोग कर्ताले आफुले गर्ने पोस्ट सत्य भए नभएको खासै सरोकार राख्दैनन् । विना अर्थका पोस्टले समाजमा कस्तो असर पार्छ भन्ने ख्यालै गर्दैनन् । कसैको मृत्यु भयो कि मृत शरीरको छेउमै उभिएर तस्बिर लिने अनि समाजिक संजालमा राख्नु संबेदनहीनताको पराकाष्ठा हो । अझै केही तस्बिर त  हेर्न नसकिने विभत्स दृश्य, दैबी प्रकोपमा परेकाहरूको उद्धारका क्रममा खिचिएका विभत्स, निरासिला तस्बिरहरू राख्ने ब्यक्ती बास्तबमा राम्रो ज्ञान भएका ब्यक्ती होइनन् । त्यति मात्र नभएर तिनै विभत्स तस्बिरहरूलाई लिएर यो तस्बिर देखेर पनि नदेखेजस्तो नगर्नुहोला अन्यथा नराम्रो हुनेछ वा जति सेयर गर्नु भयो तपाईंको मनोकांक्षा पूरा हुनेछ भनेर देबि देबताको तस्बिर पनि राखिएका हुन्छन् । वास्तवमा यो सरासर ब्यक्तिको आस्थामा गरिएको खेलवाड हो । भनिएको छ–  विद्युतिय कारोबार ऐन २०६३ मा विद्युतीय संचार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रशारण गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने विभिन्न आपराधिक काम वा हैरानी अनि अपमानजनक, अमर्यादित किसिमका पोस्टहरू पोस्ट गर्ने गराउने ब्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ भन्ने व्यवस्था पनि छ । तर पनि कानुनी कार्यान्वयन भने शून्य नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *