पछिल्लो समय नेकपा (एमाले) निकट साइबर सेना गलत प्रचारमा उत्रिएको देखिएको छ । सेनाले आक्रामक रुपमा राजनीतिक क्षेत्रका चर्चित सेलिब्रेटीलाई आफ्नो निशानामा पार्न थालेको छ ।
साइबर सेनाको सिकारमा विवेकशील साझाकी नेतृ रञ्जु दर्शना नराम्रोसँग परेकी छिन् । विवेकशील साझाभित्रै संस्थापन पक्षसँग संघर्षमी रहेकी उनको ‘एमालेमा प्रवेश गरिसकिन्’ भन्दै गलत तस्बिरसहित प्रचार गरिएको छ । नेकपा (एमाले) निकटका विभिन्न खुद्रा अनलाईन र फेसबुक गु्रपहरुमार्फत दर्शनाको विषयमा प्रचार गरिएको हो ।
पटक–पटकको मिथ्या प्रचारबाट हैरानीमा परेपछि दर्शनाले सामाजिक सञ्जालमार्फत नै यस्ता मिथ्या प्रचारको पछाडि नलाग्न आग्रह पनि गरेकी छिन् । उनले पटक–पटक नै एमालेमा प्रवेश नगरेको र गर्ने कुरा कल्पना पनि नगरेको बताउने गरेकी छिन् ।
दर्शनाले संसार न्यूजसँगको कुराकानीमा गलत प्रचारले आफु हैरानीमा परेको सुनाइन् । ‘दिनभरि जे–जति फोन आउँछ सबै बधाई, स्वागत अनि किन गएको भन्ने मात्रै आउँछ ?’ दर्शनाले भनेकी छिन्, ‘म निकै हैरानीमा परेकी छु । अब प्रहरीमा उजुरी दिने योजनामा छु । मलाई लाग्दैछ, हाम्रो योजनाबद्ध रुपमा प्रचार गरिँदै छ ।’
दर्शनाको जस्तै हालत पाण्डेको
दर्शना मात्रै होइन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चितवनका नेता विक्रम पाण्डे मिथ्या प्रचारले हैरानीमा परेका छन् । एमालेमा प्रवेश गरेको भन्दै मिथ्या प्रचार हुन थालेपछि पाण्डे हैरानीमा परेका हुन् । उनले पटक–पटक सञ्चार माध्यममार्फत नै आफुँ राप्रपामै रहेको प्रष्टीकरण पनि दिएका छन् ।
‘एमाले प्रवेशबारे न मलाई कसैले प्रस्ताव ल्याएको छ न म आफै कोहीसँग यसवारे कुरा गरेको छु । कसैले भाषणमा उहाँ हामीसँग आउँदै हुनुहुन्छ भनेका भरमा कसैले समाचार सम्प्रेषण गर्छ भने त्यो उसैको कुरा हो । मैले राप्रपा वाहेक आफ्नो लागि अर्को कुनै पार्टी देखेको छैन’, पाण्डेले भनेका छन् !
योजना नै भ्रम फैलाउने
अहिले एमालेको साइबर सेना योजनाबद्ध रुपमै भ्रम फैलाउन जुटेको छ । विभिन्न पार्टीभित्रका असन्तुष्ट नेता र कलाकारको नाम जोडेर उसले प्रचार गरिरहेको छ ।
साइबर सेनाले यसअघि चर्चित कलाकार करिश्मा मानन्धर र रेखा थापाको पनि नाम जोडेर प्रचार गरेको थियो । एमाले निकटका अनलाईन र सामाजिक सञ्जालका गु्रपमा त्यस्ता समाचार शेयर गरिएको थियो ।
अहिले एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी)का कतिपय नेताको नाम त्यसैगरि प्रचार गरिएको छ । ‘माधव नेपाल फेरि एमालेसँग एकता गर्न जुटे’ जस्ता समाचार प्रचार गरिएको छ ।
यसअघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि साइबर सेनाको गलत प्रचारको सिकार भएका थिए । श्रेष्ठ एमाले प्रवेश गर्दै भन्दै समाचार कतिपय अनलाइनले छापेका थिए ।