राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सबै राजनीतिक दलहरूले विश्वास गुमाएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा सम्बोधन गर्दै उनले राजनीतिक आम जनताको दृष्टिकोणबाट हेर्दा लिक बाहिर गएको उल्लेख गरे । ‘म यतिबेला सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु। देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ’ उनले भने,‘‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन। यो सबलाई ठीक लगाउने कसले? यसलाई ठीक लगाउने राजनीति हो। तर राजनीति ठीक छैन। यो राजनीति ठीक लगाउने नेताहरूले हो। तर नेताहरूले पूर्ण रुपमा विश्वास गुमाएको अवस्था छ।’ उनले कांग्रेस महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेताहरूप्रति अहिले जनताको विश्वास गुमेको उदाहरण दिए। भने– ‘हाम्रो गाउँ घरतिर पार्टीको कार्यकर्ताले नेता आउँदा र छिमेकलाई आमन्त्रण गर्न जान्छ। तर नेताको नाम सम्झिदैनन् कुन चाँहि चोर आएछ आज भन्छन्। हाम्रो अवस्था यस्तो छ।’उनले महाधिवेशन एउटा औपचारिकता र वैधानिक पूरा गर्नेभन्दा पनि नेतृत्वको बिग्रेको छवि सुधार्ने अवसरको रुपमा लिनुपर्ने बताए। ‘२०४६ सालपछि बनेका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न सकेनन्। नफुटेको पार्टी कुनै भएन। कहाँनेर त्रुटि भयो? कहाँनेर हामी चुक्यौं?’