बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने खादा लगाएर बिदा भए ग्यालेक्सी टीभीबाट, काठमाडौंको यो क्षेत्रबाट ओर्लिनेभए चुनावी मैदानमा

राजनीति समाचार

बहुचर्चित सञ्चारकर्मी चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने आसन्न संसदीय चुनाव लड्ने भएका छन्। लामिछानेले काठमाडौंबाट चुनाव लड्न ग्यालेक्सी टीभी छाडेका हुन्।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका स्रोतले बताएको छ। बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन्। आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ।

टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन्। आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए।

’उहाँले आजको मीटिङमा टीभी छाड्ने र राजनीतिमा जाने कुरा गर्नुभएको छ, बाँकी भावनात्मक कुराहरू भए, ’ग्यालेक्सी टीभीका एक कर्मचारीले भने, ’कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा भने केही बताउनुभएन।’

उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन्। काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो। अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भए पनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *