पाकिस्तानी फिल्म ‘द लेजेन्ड अफ मौला जट्ट’ले पाकिस्तान फिल्म इन्डस्ट्रीको इतिहासमा ठूलो रेकर्ड बनाएको छ । फवाद खान स्टारर यो फिल्मले पाकिस्तानको इतिहासमा सर्वाधिक कमाई गर्ने पहिलो फिल्मको रेकर्ड बनाएको हो । यो फिल्मले विश्वभरबाट सय करोडको आँकडा नघाएको छ । यसअघि कुनै पनि पाकिस्तानी फिल्मले विश्वभरबाट सय करोड कमाउन सकेका थिएनन् ।
यो फिल्मले पाकिस्तानसँगै अमेरिका, ब्रिटेन र यूएई देशमा बलियो कमाई गरेको छ । बिलाल लशारीद्वारा निर्देशित ‘द लेजेन्ड अफ मौला जट्ट’लाई पाकिस्तानकै सबैभन्दा महंगो बजेटको फिल्म भनिएको छ । पहिलो पटक पाकिस्तानी फिल्मले बलिउड फिल्मलाई समेत व्यापारमा उछिनेको छ । यो फिल्मले यूएस र यूकेमा दुई बलिउड फिल्म ‘राम सेतु र ‘थ्याङ्क गड’भन्दा राम्रो कमाएको छ ।
यो फिल्ममा माहिरा खान, हमजा अली अब्बासी, हुमैमा मलिक, गोहर रशीदको पनि अभिनय छ । ‘द लेजेन्ड अफ मौला जट्ट’ सन् १९७९ मा रिलिज भएको फिल्म ‘मौला जट्ट’को रिमेक हो । यो फिल्मका अभिनेता फवाद खानले बलिउडको ‘ए दिल है मुश्किल’, ‘कपूर एन्ड सन्स’, ‘खूबसूरत’ फिल्ममा काम गरेका छन् भने माहिराले शाहरुख खानसँग फिल्म ‘रइस’मा रोमान्स गरेकी थिइन् ।