महिलालाई शिक्षा र आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ : कमल थापा

राजनीति विचार शिक्षा समाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिला सशक्तिकरणका लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नारीहरूको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए।

उनले नारी दिवसका दिन मात्र महिलाको हकहित सम्बन्धी कुरा गर्दैमा उपलब्धी नहुने बताए।

राज्यका हरेक प्रतिनिधिमुलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकोले त्यसलाई समुचित रुपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने थापाले बताए।

पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधित्व गराउन आफूहरू गम्भीर रहेको बताउँदै अध्यक्ष थापाले अग्रपङ्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पुर्‍याउन राप्रपा नेपाल निरन्तर लागिरहेको बताए। उनले वडा तहसम्म संगठन विस्तार गरी संगठन मजबुद पार्न महिला संगठनका पदाधिकारीहरूलाई निर्देशन दिएका थिए।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालकी अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संगठनका उपाध्यक्ष संगीता लाखाजु, काठमाडौं जिल्ला अध्यक्ष मिरा कार्की महर्जनलगायतले आ-आफ्नो विचार राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *