काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समकालिन राजनीतिका निकै चतुर र गतिशिल नेताका रूपमा परिचित छन् । धेरैले उनलाई परिस्थितिको मुल्याङक गरी तत्काल निर्णय लिएर जोखिम मोेल्न सक्ने राजनीतिज्ञ भएको मान्दछन् ।
कतिपयले प्रचण्ड अस्थिर, बोलिको ठेगान नभएका, धोकाधडी राजनीतिको माहिर खेलाडी र अवसरवादी चरित्र भएको नेता मान्छन् । सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी ओलीले त प्रचण्ड अन्तर्विरोधमा खेल्न रुचाउने राष्ट्रिय समस्याको नेताका रूपमा चित्रण गर्दैै आएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले एक वर्षअघि एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डमाथि टिप्पणी गर्दै भनेका थिए– ‘प्रचण्डजी त एउटा राष्ट्रिय समस्या हो, आफू जहाँ गयो त्यहिँ विभाजन गर्ने, कसैलाई पनि मिल्न नदिने । नेपाली काँग्रेसमा भन्नुस् न, उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाका बीचमा अहिले पनि खेलिरहनुभएको छ । तर, यति सावधानी र चतुर्याइका साथ किन ? उहाँलाई देश बनाउनु त छैन ।’
५ पुस, २०७७ मा संसद विघटन गरी ओलीले मध्यवाधि घोषणा गरेपछि तत्कालीन नेकपाभित्र माधव समूहसँग मिलेर उनीविरुद्ध सडक संघर्षमा उत्रिएका थिए । कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवासँग मिलेर ओलीलाई बालुवाटारबाट बालकोट जान बाध्य बनाए । यसरी ओली–प्रचण्डबीचको शक्ति संघर्षका कारण अघिल्लो निर्वाचनमा झण्डै दुईतिहाइ बढीको शक्तिशाली वामपन्थी सरकार ढल्यो ।
कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रचण्डलाई एक गतिशिल, कठोरमा निकै कठोर र नरमममा निकै नरम हुन सक्ने नेताका रूपमा चित्रण गरेका छन् । केही समयअघि टेलिभिजन अन्तर्वार्तामै महामन्त्री द्वयले प्रचण्डको चरित्र र स्वभावमाथि चित्रण गरेका थिए ।
‘उहाँ एक गतिशिल नेता हुन् । प्रचण्डजी जस्तो सुकै चुनौतीको सामना गरी तत्काल निर्णय लिन सक्ने खुबी अन्य नेतामा विरलै देखिन्छ । उहाँ कठोरमा अति कठोर र नरममा निकै नरम हुन सक्ने राजनीतिज्ञ हुन्’, महामन्त्री थापा र शर्माले भनेका थिए ।
राज्य सत्ताविरुद्ध १० वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड युद्ध कालमा रहस्यमय पात्रका रूपमा देखिए । तत्कालीन माओवादीभित्र वैद्य–भट्टराईबीचको अन्तर्विरोधमा खेल्दै राजनीति लाभ लिएको आरोप प्रचण्डमाथि लाग्दै आएको छ । १२ बुँदे सम्झौतापछि २०६३ मा शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्ड त्यसयता सँधै राजनीतिक केन्द्रविन्दूमा रहँदै आएका छन् । निरन्तरताको क्रमभंगताबाट राजनीतिमा अवसरवादी छलाङ मार्न खोज्ने र पार्टीभित्रको अन्तर्विरोधबाट फाइदा लिइराख्ने नेता भएको उनका पूर्वसहकर्मी विश्वभक्त दुलाल आहुतीको बुझाइ छ ।
‘प्रचण्डजीलाई देश र जनताका समस्याको कुनै मतलब छैन । युद्धबाट बनेको विशाल पार्टी छिन्नभिन्न भएको पनि उहाँलाई कुनै चिन्ता छैन् । कसरी अन्तर्विरोधमा खेलेर आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भन्नेमा मात्र उहाँको ध्यान गएको देखिन्छ । पहिले पार्टीभित्र वैद्य–बाबुरासँग खेलेर लाभ लिनुभयो । अहिले कांग्रेस–एमालेसँग मिलेर फाइदा लिइरहनुभएको छ’, उनले भने ।
उनका पूर्वसहकर्मी नेतत्रविक्रम चन्द ‘विप्लव’ले प्रचण्डको राजनीतिलाई धोकाधडी, उपयोगवादी र दलाल पूँजीवादी अवसरवादको अवशेषका रूपमा चित्रण गरेका छन् । केही समयअघि आफ्नै निवासमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले धोखाको राजनीति गर्दै आएको आरोप लगाए । यही धोकापूर्ण राजनीतिले प्रचण्डलाई महाविपत्तिमा फसाउने टिप्पणी गरे ।
‘प्रचण्डजीले युद्धको नाममा सर्वहारा वर्ग र युद्धमा होमीएका हजारौं वीर योद्धालाई धोका दिनुभयो । वैद्य, बाबुरामलाई धोका दिनुभयो । अहिले उहाँ विदेशी प्रतिक्रियावादी, दलाल पूँजीपती वर्गको इशारामा कहिले यता त कहिले उता गर्दै फाइदा लिइरहनुभएको छ । उहाँ आफ्नै कारणले महाविपत्तिमा फस्दै गएका छन्’, प्रचण्डमाथि उनको प्रतिक्रिया थियो ।
तर प्रचण्डमाथि उनका सहकर्मी, पूर्वसहकर्मी र विपक्षीलगायतले लगाएका यी संगीन आरोपको उनलले खण्डन गर्दै आएका छन् । १२ बुँदे सहमतिमार्फत शान्ति प्रक्रियामा आएको १६ वर्षको गतिविधि हेर्दा प्रचण्डले राष्ट्रिय राजनीतिमा गम्भीर धोका दिएका श्रृंखला लामै देखिन्छ । यस्ता गतिविधिले व्यक्तिगत रूपमा केही फाइदा पुर्याएपनि मुलुकलाई धेरै क्षति भएको विपक्षीको आरोप छ । कतिपय सन्दर्भमा आफूले विगतमा गरेका केही कामले आफूलाई नै सिध्याएकोमा उनी पछुतो मान्दै आएका छन् ।
त्यही श्रृंखला अन्तगर्त १० पुसमा एमालेको प्रस्तावमा तेस्रो पटक प्रधानमन्त्री भएको उनी तीन महिना नपुग्दै सत्ता समीकरण बदल्ने मनस्थितिमा पुगेका छन् । २६ पुसमा प्रतिनिधिभा बैठकबाट विपक्षी दल कांग्रेसकोसमेत विश्वासको मत पाएका उनले त्यसकै भारले थिच्चिदै गएका छन् । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता समीकरण फेरबदलको धौडधुपले भने उनलाई कति फाइदा वा बेफाइदा हुन्छ, त्यसका लागि राष्ट्रपतिको निर्वाचनसम्म पर्खिनुपर्ने हुन्छ । यद्यपी यहाँ शान्ति प्रक्रियामा आएपछि राष्ट्रिय राजनीतिमा प्रचण्डले दिएको धोकापूर्ण श्रृंखलाको संक्षीप्त विश्लेषण गरिएकाे छ ।
धोका–१
राष्ट्रपतिमा गिरिजालाई असहयोग
२०६४ मा भएको संविधानसभा निर्वाचनमा २३८ सिटसहित संसदमा सबैभन्दा ठूलो राजनीतिक दलमा माओवादी उदायो । त्यतिबेला सरकारको नेतृत्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । विदोहीको नेतृत्व प्रचण्डले गरेका थिए ।
५ मंसिर, २०६३ को बृहत्त शान्ति सम्झौतापछि संसदीय राजनीतिको मूलधारमा आएको माओवादीले विद्रोही लडाकुलाई सात वटा क्यान्टोनमेन्टमा राखेर निर्वाचनमा भाग लिएको थियो । हजारौं अर्धसैनिक योङ कम्युनिष्ट लिग(वाइसिएल)लाई खुल्ला गरेको थियो ।
संक्रमणकालीन अवस्थामा राष्ट्रप्रमुखकोसमेत भूमिकामा रहेका प्रधानमन्त्री गिरिजालाई माओवादीले निर्वाचनमा अध्याधिक मत ल्याउने रिपोर्ट सुरक्षा संयन्त्रले दिएका थिए । तर प्रचण्डकै सहयोगमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने लोभमा रहेका कोइरालाई निर्वाचनपछि उनै प्रचण्डले धोखा दिए । निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपति पनि आफै हुन चाहेका थिए ।
विद्रोही नेतालाई प्रधानमन्त्री र राष्ट्रपति स्वीकार्न नसक्ने भन्दै त्यतिबेला कांग्रेस–एमाले अडान लियो । गिरिजालाई राष्ट्रपति बनाउने आश्वासन दिएका प्रचण्डले अन्त्यमा संसदमा एक सिट पनि नभएका पुराना वामपन्थी नेता रामराजप्रसाद सिंहलाई उम्मेदवार बनायो । प्रचण्डको व्यवहारबाट चिढिएका गिरिजाले आफू राष्ट्रपति नहुने भएपछि कनिष्ठ नेता डा. रामबरण यादवलाई राष्ट्रपतिमा अघि सारेर उनको योजनालाई असफल बनाए । गिरिजालाई असहयोग गरेकै कारण प्रचण्ड सरकार ९ महिनामै ढल्यो । गिरिजालाई राष्ट्रपति नबनाएकोमा प्रचण्डले अहिले पनि पछुतो मान्दै आएका छन् ।
धोका–२
माधव नेपालाई राष्ट्रपतिमा प्रस्ताव
निर्वाचनअघि नै राष्ट्रपतिको प्रचार गरेका प्रचण्डले आफू राष्ट्रपति नहुने भएपछि एमालेलाई खुशी पार्न राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरे । दुई–दुई ठाउँबाट पराजित भएका नेपालले सुरूमा उनको प्रस्तावलाई अस्वीकार गरेका थिए । तर प्रचण्डको पटक–पटकको आग्रहपछि राष्ट्रपतिको उम्मेदवार बन्न नेपाल तयार भएका थिए ।
राष्ट्रपतिको निर्वाचनको मुखमा सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाउने माओवादीले निर्णय गर्यो । प्रचण्डको दोहोरो चरित्रबाट चिढिएका नेपाललाई फकाउन प्रचण्डले संवैधानिक समितिको सभापति बनाए । प्रचण्ड सरकार ढलेपछि उनै माधवलाई गिरिजाले प्रधानमन्त्री बनाए । प्रचण्ड सडकमा आइपुगे । त्यहाँदेखि प्रचण्डको राजनीति यात्रा ओरालो लागेको हो ।
धोका–३
माधेशी मोर्चाको उपयोग
झण्डै दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री भएका प्रचण्ड सत्ता यात्राको ९ महिनामै सडकमा पछारिएपछि सरकारविरुद्ध देशभर आन्दोलन चर्काए । आन्दोलनको क्रममा सिंहदरबार घेरा हाल्नेदेखि चक्रपथ कब्जा गरेका थिए । जातिय राज्यको माग गर्दै आएका तत्कालीन मधेशी मोर्चा, जनजाति आन्दोलनका अगुवा, नागरिक आन्दोलनका अगुवाका साथ पाएका प्रचण्ड हुन सकेनन् । नेपाल नेतृत्वको सरकारले नै माओवादी लडाकु निशस्त्रिकरण अभियान सुरु गरेपछि राष्ट्रिय राजनीतिमा उनी थप कमजोर भए । नयाँ संविधान जारी नभइ संविधानसभा नै विघटन भयो ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा माओवादीको सर्मनाक हार भयो । माओवादी ८३ सिटसहित तेस्रो दलमा खुम्चियो । जातिय पहिचाहसहित ११ प्रदेश बनाउन मधेशी, आदिवासी जनजातिको साथ लिएर देशभर आन्दोलन चर्काएका उनले मधेशी मोर्चालाई छाडेर पहिचाहन बिहिन ७ प्रदेशमा सम्झौता गरे । कांग्रेस र एमालेसहितका दलसँग मिलेर नयाँ संविधाजन जारी गर्न सहयोग गरे । उनको चरित्रबाट चिढिएका तत्कालीन लोकतान्त्रिक फोरम बाहेकका मधेशी मोर्चाले ३ असोज, २०७२ नयाँ संविधान जारी भएपछि मधेश आन्दोलन चर्काएका थिए । संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाउँदा मुलुकको जनजीवन अस्तव्यस्त भएको थियो ।
धोका–४
ओलीलाई आफैले प्रधानमन्त्री बनाए, आफैले ढलाए
नयाँ संविधान जारी भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिए । ओलीलाई प्रचण्डले प्रधानमन्त्री प्रस्ताव गरे । तर १० महिनामै ओलीलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँग सहकार्य गर्न पुगे । कांग्रेसको समर्थनमा आफै प्रधानमन्त्री भए । २०७४ को स्थानीय तहको निर्वाचनपछि उनले राजीनामा दिए ।
धोका–५
देउवासँग सत्ता सहकार्य भंग
देउवासँग सत्ता सहकार्य गरी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका प्रचण्ड चुनावी परिणाम प्रतिकुल आयो । त्यहि साल मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उनले कांग्रेससँग सहकार्य तोडेर ओलीसँग पार्टी एकताको प्रस्ताव अगाडि बढाएका थिए । २०७४ को निर्वाचनमा एमाले–माओवादी वामगठबन्धनले अत्याधिक बहुमत ल्यायो । कांग्रेसले सर्मनाक हार व्यहोर्यो ।
धोका–६
ओलीसँग सत्ता सहकार्य भंग
२०७४ को निर्वाचनमा अत्याधिक मतसहित वामपन्थी गठबन्धन विजयी भयो । प्रचण्डको प्रस्तावमा ओली दोस्रो पटक प्रधानमन्त्री भए । ३ जेठ, २०७५ मा एमाले र माओवादीबीच पार्टी एकता गरी नेकपा गठन भयो । तर ओली र प्रचण्डबीचको शक्ति संघर्षले ४० महिना नपुग्दै ओली सरकार ढल्यो । नेकपा विघटन भयो । ओली बालुवाटारबाट बालकोट पुगे । एमालेसमेत विभाजन भयो । प्रचण्ड–माधवको समर्थना देउवा प्रधानमन्त्री भए ।
धोका–७
एमसिसी अनुमोदन
ओली सरकारकै पालामा अनुमोदन गर्न लागिएका अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसिसी) प्रचण्डकै कारण रोकिएको थियो । प्रतिनिधिसभाबाट अनुमोदन गर्न ओलीले २०७६ मै अघि बढाएपनि सभामुख माओवादीका भएकाले अघि बढेन । राष्ट्रियतासँग जोडेर प्रचण्डले एकातिर एमालेलाई कमजोर बनाउने रणनीति लिए भने अर्कोतिर अमेरिकालाई खुशी पार्न अनुकुल समयमा सम्झौता अनुमोदन गर्नेगरी पत्रचार गरे । ओलीलाई हटाएर देउवा प्रधानमन्त्री भएपछि एमसिसी सम्झौता संसदमा अघि बढाइयो । एमसिसीमा प्रचण्डको दोहोरो भूमिका सञ्चारमाध्यमले सार्वजनिक गरेपछि उनी थप विवादमा आएका थिए । पछि व्याख्यात्मक टिप्पणीसहित गतवर्ष फागुनमा संसदबाट पारित भयो ।
धोका–८
देउवासँग सत्ता समीकरण भंग गरी ओलीसँग सहकार्य
स्थानीय तहको निर्वाचनदेखि संघीय निर्वाचनसम्म सत्ता सहकार्य गरेको तत्कालीन देउवा नेतृत्वको गठबन्धनले प्रतिनिधिसभा निर्वाचनमा १३६ सिटसहित बहुमत नजिक पुगेको थियो । कांग्रेसले ८९ सिट ल्याएर पहिलो दल भयो । पाँचदलीय गठबन्धनको घेरा तोडेर एमाले दोस्रो दल बन्न सफल भयो । ३२ अंकको न्यून अंकसहित माओवादी तेस्रो दल भयो । निर्वाचनको परिणामले आत्तिएका प्रचण्डले निर्वाचनपछि पहिलो चरणा आफू प्रधानमन्त्री बन्ने प्रस्ताव देउवासँग राखे । तर उनको प्रस्तावलाई देउवाले अस्वीकार गरेपछि प्रचण्ड १० पुसमा एमालेसँग सहकार्य गर्न पुगे ।
ओलीकै प्रस्तावमा प्रधानमन्त्री भएका उनले एमालेलाई राष्ट्रपति दिने सहमति गरे । २६ पुसमा संसदबाट कांग्रेससहितको विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहमति तोड्दै राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन हुनुपर्ने अडान लिए । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । ओलीसँगको सहमति भंग गर्दै प्रचण्डले पुरानै गठबन्धन ब्युँताउने गृहकार्यमा लागेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस, माओवादीसहित चार दलको बैठकले निर्वाचन अघिको गठबन्धन ब्युँताउने सहमति भएको नेताहरूको दाबी छ । यसरी एकपछि धोखाको राजनीतिमा गर्न माहिर देखिएका प्रचण्ड तीन महिना नपुग्दै ओलीसँगको सहकार्य तोड्ने मनस्थितिमा पुगेको देखिन्छ ।
सत्ता समीकरण फेरबदलको निर्णायक शक्ति रहेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान सत्ता गठबन्धन जोगाउने कि भत्काउने भन्नेमा उनकै हातमा छ ।
राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदार दलका नेता ओली र प्रचण्डबीचको दूरी बढ्दै गइरहेको बेला शुक्रबार प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा चलेको बैठक सकरात्मक भएको शीर्ष नेताहरूको दाबी छ । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीको दाबी कायमै छ । उपराष्ट्रपति जसपालाई दिने गरी दलहरू सहमति नजिक छन् । राष्ट्रपतिमा नेपाललाई दाबी छाड्न लगाएर प्रधानमन्त्री बनाउने गरी लिखित सहमति गर्ने तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ ।
स्रोत : अम्बिकेस्वोरी अन्लाईन