टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।tht
ललितपुरका ५७ वर्षीय धनञ्जय पुडासैनीले एक दशकदेखि मध्य बानेश्वरमा न्यू प्रकृति नर्सरी चलाउँदै आएका थिए ।
साढे ३ वर्षअघि कोरोना भाइरसको महामारी फैलिँदा सरकारले लकडाउन लगायो, व्यापार ठप्प भयो । भाडा तिर्नै धौधौ हुन थाल्यो ।
निषेध हटेपछि पनि व्यवसायले पुरानो लय समातिरहेको थिएन । त्यहिबेला बुबा धनञ्जयको व्यवसायलाई माथि उठाउन छोरा मनिष र छोरी मोनिकाले नर्सरीलाई प्रविधिसँग जोड्ने उपाय निकाले ।
‘छोराछोरीले टिकटकमा हालेर प्रचार गर्नुपर्छ भनेका थिए, त्यसपछि गर न त भनेको थिएँ’, उनले अनलाइनखबरसँग भने, ‘सुरुमा त्यति वास्ता गरेको थिइनँ, तर टिकटकले विस्तारै ग्राहक बढाउँदै लग्यो ।’
पुडासैनीका अनुसार, त्यसबेला अनलाइनबाट अर्डर हुँदा सामान पुर्याउन कठिनाइ थियो । छोराछोरीले अनलाइनबाट पैसा लिएर गाडीमा हालेर पठाइदिन्थे । तर, अहिले कुरियर कम्पनीहरुले पनि निश्चित रकम लिएर सामान लगिदिन्छन् ।
टिकटकबाट व्यवसायलाई उपत्यकाबाहिर फैलाउन पनि सम्भव भएको भन्दै पुडासैनी थप्छन्, ‘केही दिनअघि मात्रै जनकपुरको एउटा अस्पतालमा ठूलो डेलिभरी पठाएको थिएँ । सुर्खेत, नवलपरासी, लमजुङदेखि पूर्वमा इटहरी, इलामसम्म यहाँको सामान पुगेको छ ।’
सरकारले सोमबार भिडियो शेयरिङ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउनुअघि प्रकृति नर्सरीको टिकटक एकाउन्टमा ३७ हजार फलोअर्स थिए । झण्डै ८ लाख लाइक्स थियो ।
पुडासैनी भन्छन्, ‘म जस्तालाई व्यवसाय फैलाउन निकै सहयोग पुगिरहेको थियो, सरकारले के सोचेर यस्तो निर्णय गर्यो, अनौठो लागि रहेको छ ।’
०००
तीन वर्षअघिसम्म रौतहटको चन्द्रपुर नगरपालिका–४, ठाडा टोलकी २७ वर्षीया सुस्मिता चौंलागाईं सामान्य युवती थिइन् ।
स्नातक तहको अध्ययन सकेर घरमै बसिरहेकी थिइन् । त्यहीबेला युवा पुस्तामाँझ टिकटक क्रेज बढ्दै थियो । सुस्मिता पनि यसबाट अछुतो रहन सकिनन् ।
विभिन्न विषयमा रोचकरुपमा सटिक टिप्पणी गर्ने उनको शैली टिकटकमा अत्यधिक रुचाइयो । उनका कन्टेन्टहरुले राम्रो भ्यूअर्स पाउन थाले ।
स्थानीय तह निर्वाचनका बेला काठमाडौं महानगरमा बालेन्द्र शाहले मेयरमा स्वतन्त्र उम्मेदवारी दिँदा उनको पक्षमा सुस्मिताले बनाएको भिडियो भाइरल भयो ।
विस्तारै उनका अरु पोष्टहरु पनि धेरै रुचाइन थाले । त्यसपछि रौतहटकी सुस्मिता एकाएक ‘सोसल मिडिया इन्फ्लुएन्सर’ बनिन् । टेलिचलचित्र, विज्ञापन र म्यूजिक भिडियोहरुमा खेल्नलाई अफरको लर्को लाग्यो ।
‘मैले ‘अति भो !’ सिरियलको ७ वटा एपिसोडमा काम गरेँ’, सुस्मिता भन्छिन्, ‘टिकटकमा भाइरल भएपछि मेरी बास्सैबाट पनि बोलाएका थिए, एक एपिसोडमा त्यहाँ पनि खेलेँ ।’ त्यसपछि भद्रगोल लगायतका टेलिचलचित्र र म्यूजिक भिडियोबाट अफर आएको उनी सम्झन्छिन् ।
टिकटकबाट बनेको पहिचानको पृष्ठभूमिमा सुस्मिता अहिले पूर्णकालीन कलाकार बनेकी छन् । टेलिचलचित्र ‘तमासा’मा नियमित काम गरिरहेकी छन् । म्यूजिक भिडियोहरुमा देखिइराख्छिन् ।
०००
काठमाडौं युनिभर्सिटी स्कुल अफ लबाट स्नातक सकेर कानूनी अभ्यास थाल्दा सुरज तिमल्सिनालाई लाग्यो, ‘नेपाली नागरिकलाई कानूनका सामान्यभन्दा सामान्य विषयमा पनि ज्ञान छैन ।’
तिमल्सिनाले सोचे त्यस्ता विषयमा सबैलाई सचेत गराउन टिकटक उपयुक्त प्लेटफर्म बन्नसक्छ ।
‘त्यसपछि मैले सामान्य व्यक्तिहरुले बुझ्ने गरी एकदमै सरल भाषामा कानून बुझाउने सामाग्रीहरु पोष्ट गर्न थालेँ’, तिमल्सिनाले अनलाइनखबरसँग भने, ‘लुकेको ल नामक आईडीबाट मैले पोष्ट गरेको भिडियोहरुमा लाखौं भिजिटर आएका छन् ।’
सरकारले टिकटकमा प्रतिबन्ध लगाउनुअघि उनको टिकटक एकाउन्टमा १ लाख ४ हजार फलोअर्स छन् । सम्पत्तिको अधिकारदेखि जबरजस्ती करणीसम्बन्धी कसूरका विभिन्न विषयमा उनले राखेका भिडियोहरु लाखौं पटक हेरिएका छन् ।
‘कानूनी कुरामा कुनै परिवर्तन भयो भने सामान्य मानिसहरुलाई थाहा हुँदैन रहेछ, धेरैलाई पुरानै जानकारी नहुने’, उनले भने, ‘मैले त्यही विषय सम्बोधन गर्दा लाखौं मानिससम्म मैले बनाएका सामग्रीहरु पुगे ।’
भिडियोमा आउने कमेन्टहरु हेरेर पनि आफूहरुले आमजिज्ञासा सम्बोधन गरिदिने गरेको तिमल्सिना बताउँछन् । ‘भिडियो हेरेर कानूनी सहायतका लागि भेट्न आउनेहरु पनि थुप्रै छन्, कानूनी सचेतना बढाउन यो प्लेटफर्म महत्वपूर्ण सावित भएको थियो’, उनी भन्छन् ।