मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ?

शिक्षा समाचार स्वास्थ

वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ, जुन सबै प्रकारका क्यान्सरबाट हुने महिलाको मृत्युभन्दा बढी देखिन्छ । महिलामा हुने मुटुरोगको अध्ययन, पहिचान, निदान र उपचार कम रहने प्रवृत्ति छ, जुन गम्भीर विषय हो ।

महिलामा मुटुरोगका केही लक्षण पुरुषमा देखिने लक्षण भन्दा पृथक् हुन सक्छन्, जसले गर्दा महिलामा प्राय: मुटुरोगको गलत निदान गरिन्छ । सर्वसाधारणका साथै स्वास्थ्यकर्मी दुवैमाझ महिलामा हुने मुटुरोगसम्बन्धी ज्ञान बढाउन अत्यन्त आवश्यक छ ।

मुटुका रक्तनली ‘आर्टरी’ ले पर्याप्त मात्रामा अक्सिजन रहेको रगत मुटुलाई प्रदान गर्न सकेन भने ‘कोरोनरी मुटुरोग’ नामक प्रकारको मुटुरोग हुने जोखिम हुन सक्छ । त्यस्तै, मस्तिष्कको एक भागलाई केही समयका लागि पर्याप्त मात्रामा रगत उपलब्ध हुन नसकेको अवस्थामा ‘मस्तिष्कघात’ (स्ट्रोक) अन्तर्गतको ‘ ईस्केमीक स्ट्रोक’ हुने जोखिम हुन्छ ।

अधिकांश विकसित देशमा महिलाको मृत्यु हुनुका दुई मुख्य कारण कोरोनरी मुटुरोग र मस्तिष्कघात हुन् । विभिन्न सञ्चारमाध्यमले महिलाको मृत्युको प्रमुख कारण ‘स्तन क्यान्सर’ रहेको कुरा त्रुटिगत रूपमा प्रकाशन प्रसारण गर्दै आएको पाइन्छ । यो गलत धारणा सम्बोधित हुनुपर्छ किनकि मुटुरोगको तुलनामा स्तन क्यान्सरबाट महिलामा हुने कुल मृत्युको संख्याको थोरै प्रतिशत मात्र पर्दछ । वि. सं. २०७९ सालमा विश्वभरि २३ लाख महिलामा स्तन क्यान्सरको निदान भयो र सोही साल ६ लाख ७० हजार महिलाको सोही कारणले मृत्यु भयो ।

महिला समुदायलाई मुटुरोगसम्बन्धी सचेतना फैलाउन अत्यन्त जरुरी छ किनकि महिलामा मुटुरोगबाट हुने अधिकांश मृत्यु पूर्वलक्षणै नभएका बिरामीको हुन्छ । गर्भावस्थामा पुग्ने उमेरका क्षमता भएका महिलामा मुटुरोग सम्बन्धी समस्या हुने जोखिम कम हुन्छ । तर रजोनिवृत्ति (अङ्ग्रेजीमा मेनोपज) अर्थात् स्थायी रूपमा महिनावारी रोकिएपछि जोखिम यसरी कम रहेको अवस्था हट्छ ।

सामान्य अवस्थामा दुवै लिङ्गमा हुने मुटुरोगका जोखिमका कारक

– हाईपर्टेन्सन (सिस्टोलीक रक्तचाप १४० वा बढी भएको अवस्था)

– डिस्लीपीडीमीया (रक्त संचारमा लीपीडको असामान्य तह)

– डाईबीटीस (मधुमेह) : मधुमेह भएका पुरुषहरूको तुलनामा मधुमेह भएका महिलालाई मुटुरोग हुने सम्भावना बढी हुन्छ ।

– ओबेसीटी (अत्यधिक मोटोपन)

– धुम्रपान : धुम्रपान गर्ने पुरुषको तुलनामा धुम्रपान गर्ने महिलाहरूमा मुटुरोग हुने सम्भावना बढी हुन्छ ।

– भौतिक क्रियाकलापरहित जीवनशैली

– पारिवारिक इतिहास

–  अपर्याप्त पोषण

– वातावरणीय प्रदूषण

गर्भवती महिलालाई हुने मुटुरोगका गर्भवतीसम्बन्धी जोखिमका कारक

– प्रिक्लाम्पसीया (हाईपर्टेन्सन डिसअर्डर)

– जेस्टेस्नल हाईपर्टेन्सन

-जेस्टेस्नल मधुमेह

-प्रि-टर्म डेलिभरी (गर्भावस्था ३७ हप्ता पूरा हुनुअघि बच्चा जन्मिनु)

-सामान्य वजनभन्दा कम वजनको बच्चा जन्मिनु

-प्रत्येक गर्भावस्थामा गर्भपतन

महिलासम्बन्धी मुटुरोगका अन्य जोखिमका कारक

-पहिलो महिनावारी : पहिलो महिनावारी सामान्य उमेरभन्दा अघि हुनसक्छ ।

-रजोनिवृत्ति : रजोनिवृत्ति भएपछि ईस्ट्रोजेनको निम्न तहले साना रक्तनलीहरूमा रोग विकसित हुने जोखिम बढाउँछ ।

-सामान्य उमेर भन्दा अघि रजोनिवृत्ति हुनु ।

-हर्मोनमा आधारित परिवार नियोजन ।

-पोलिसिस्टीक ओभेरीयन सिन्ड्रोम

-अटो-ईम्यून डिसअर्डर

-क्रोनिक ईन्फ्लमेटरी अवस्था

-तनाव : तनाव र डिप्रेसनले पुरुषको तुलनामा महिलाका मुटुलाई बढी असर गर्छ । डिप्रेसनले स्वास्थ्य जीवनशैली कायम गर्न पनि असहज पार्न सक्छ ।

-ईस्केमिक मुटुरोग (आईएचडी) : यो पुरुषका तुलनामा महिलामा वृद्ध उमेरमा विकसित हुन्छ । यद्यपि, युवतीहरूमा आईएचडीको दर बढ्दै गएको छ ।

-ईम्पेर्ड ग्लुकोजको दर : यो पुरुषको तुलनामा महिलामा बढी हुन्छ ।

निद्राका क्रममा हुने अवरोध, डिप्रेसन आदि रजोनिवृत्तिका क्रममा सामान्य हुन्, जुन मुटुरोगको वृद्धिसँग सम्बन्धित भएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *