के तपाईं दिनभरि मोबाइलमा कहिले ह्वाट्सएप, कहिले फेसबुक र कहिले इन्स्टाग्राम स्क्रोल गर्दै बिताउनुहुन्छ ? कुनै एउटा कुरामा ध्यान केन्द्रित गर्न सक्दिनँ के भएको होला भनेर सोच्दै हुनुहुन्छ ? तपाईंलाई पपकर्न ब्रेन सिन्ड्रोम भएको हुनसक्छ ।
सामाजिक सञ्जालमा बढी सक्रिय हुने व्यक्तिलाई यसले सताउने गर्छ । यो सिन्ड्रोमले मस्तिष्कलाई असर गर्नुका साथै मस्तिष्कको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्छ ।
के हो पपकर्न ब्रेन सिन्ड्रोम ?
यो सिन्ड्रोमले मस्तिष्कको एकाग्रतालाई असर गर्छ । यसमा मस्तिष्क एउटा कुरा देखेलगत्तै दोस्रो र तेस्रो कुरा हेर्न दौडिन्छ । दिमागलाई हरेक समय केही नयाँ चाहिन्छ । पपकर्न ब्रेन सिन्ड्रोममा मस्तिष्कले दुई वर्षको बच्चाको जस्तै काम गर्छ । जसरी बालबालिकालाई हरेक दिन नयाँ गतिविधि चाहिन्छ, त्यसैगरी पपकर्न ब्रेन सिन्ड्रोमबाट पीडित व्यक्तिलाई हरेक पल केही न केही नयाँ चाहिन्छ । यस्तो अवस्थामा मन अस्थिर हुन्छ र व्यक्तिमा ध्यान केन्द्रित हुँदैन ।
एक अनुसन्धानअनुसार जब मानिसको कुनै पनि कुरामा ध्यान केन्द्रित गर्ने क्षमता कम हुन्छ, तब उसलाई पपकर्न सिन्ड्रोम भएको मान्न सकिन्छ । सन् २००४ मा एक व्यक्तिले टिभी हेर्दा च्यानल परिवर्तन गर्न साढे दुई मिनेट खर्च गर्ने गर्थ्यो भने २०१२ मा यो समय घटेर डेढ मिनेट र आज २०२४ मा मोबाइल वा टिभीको स्क्रिनमा हेर्ने समय घटेर ४७ सेकेन्ड पुगेको छ । अर्थात् ४७ सेकेन्डपछि मानिसको दिमागले अरू केही हेर्न वा सुन्न चाहिरहेको हुन्छ ।
पपकर्न सिन्ड्रोमले स्मरण क्षमतालाई कमजोर बनाउँछ
विज्ञहरूका अनुसार पपकर्न ब्रेन सिन्ड्रोमबाट पीडित मानिसहरू कुनै पनि काममा ध्यान दिन सक्दैनन् । समयमै यसको उपचार गरिएन भने बिस्तारै सिकाइ र स्मरण शक्तिमा नकारात्मक असर पर्छ । साथै यसले व्यक्तिको भावनालाई पनि असर गर्छ । मानिसको दिमाग अस्थिर रहन्छ, जसकारण उसले महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन सक्दैन ।
पपकर्न सिन्ड्रोममा मस्तिष्कलाई डिजिटल संसारमा जस्तै ‘मल्टिटास्किङ’ एकै समयमा धेरै काम गर्ने र ‘स्क्रोलिङ’ एउटा कुरामा केन्द्रित हुन नसक्ने लत लाग्न थाल्छ र मस्तिष्कले काम गर्दा पनि त्यस्तै प्रतिक्रिया दिन्छ र विचारहरू पपकर्न जस्तै घुम्न थाल्छन् ।
यो सिन्ड्रोमले मस्तिष्कको कार्य प्रणालीलाई असर गर्छ, जसकारण व्यक्तिले कहिलेकाहीं आफ्नो अगाडि राखिएको चीजहरू भेटाउँदैन । यस बाहेक मानिसले याद गरेको कुरा तुरुन्तै बिर्सन्छ ।
‘पपकर्न ब्रेन’ मानसिक स्वास्थ्यको संसारमा चिन्ताको नयाँ विषय हो । ३०, ६० र ९० सेकेन्डको रिल्स र सर्टले मानिसलाई केही समयको लागि रमाइलो दिइरहेको हुनसक्छ तर अन्त्यमा यसले पपकर्न सिन्ड्रोमको सिकार बनाउँछ । युवा मात्र होइन, वृद्धवृद्धा, किशोरकिशोरी र बालबालिका समेत यसको सिकार भइरहेका छन् ।
सन् २०१७ मा फेसबुकले एक तथ्यांक सार्वजनिक गरेको थियो । जसमा कम्पनीले भनेको थियो, प्रत्येक दिन एक साधारण प्रयोगकर्ता ३०० फिट स्क्रिन स्क्रोल गर्छन् र यो एक महिनामा २.७ किलोमिटर हुन्छ । जुन समयमा यो डाटा सार्वजनिक भएको थियो, सामाजिक सञ्जालमा सर्ट र भिडियोहरू लोकप्रिय थिएनन्, त्यसैले अहिले यो संख्या पहिलेको भन्दा धेरै बढेको हुनसक्छ ।