टाउको दुख्दा, पेट दुख्दा वा संक्रमणको उपचारमा हामी औषधि खान्छौं, तर कहिल्यै सोच्नुभएको छ- शरीरमा यो समस्याको उपचार गर्नुपर्छ भनेर कसरी थाहा हुन्छ ? शरीरका सबै अंगहरुलाई छोडेर, औषधिले आवश्यक पर्ने ठाउँमा मात्र काम गर्छ, त्यो कसरी सम्भव भएको होला ? धेरै मानिसलाई त्यस्ता औषधिले आफ्नो शरीरमा कसरी काम गर्छ भन्ने कुरा सायदै थाहा हुन्छ होला ।
हाम्रो शरीरको प्रणालीले शरीरलाई चाहिएको कुरा आफैं खोजेर निकाल्छ । साथै, चाहिएको स्थानमा त्यसको प्रयोग पनि गर्छ ।
शरीरमा कसरी काम गर्छ ?
औषधि खाँदा सबैभन्दा पहिला यो पेटमा पुग्छ र साना-साना टुक्रामा विभाजित हुन्छ । त्यसपछि यो कलेजोसम्म पुग्छ । यसले औषधिको शरीरलाई आवश्यक तत्त्व हाम्रो रगतमा पठाउँछ । शरीरको सबै अंग तथा मांसपेशीमा रगतको माध्यमबाट नै आवश्यक तत्त्व पुग्छ । औषधि पनि रगतकै माध्यमबाट हाम्रो शरीरभर पुग्ने फेमिली हेल्थ तथा इमर्जेन्सी फिजिसियन डा. रमेश पन्त बताउँछन् ।
‘जुनसुकै औषधि पनि रगतको माध्यमबाट हाम्रो शरीरभर फैलिन्छ । तर प्रत्येक औषधि कुनै निश्चित प्रोटिन मोलिक्युस अर्थात् ग्रहणकर्ताको लागि बनाइएको हुन्छ,’ उनी भन्छन्, ‘हामीले जुन समस्या निवारणका लागि औषधि खाएका हुन्छौं, उक्त समस्या समाधानको लागि त्यो मोलिक्युसले औषधि लिन्छ र रोगविरुद्ध लड्न थाल्छ ।’
औषधि भनेको साँचो जस्तै हो, यो शरीरभरि फैलिन्छ र जहाँ फिट हुनसक्छ, त्यहाँ बस्छ । यसबाट जे प्रयोजनका लागि औषधि खाइएको हो, त्यसको काम पूरा हुने डा. पन्त बताउँछन् ।
‘लक्षित स्थानमा औषधि पुगेपछि यो एक कोषको रुपमा विकास हुन्छ । त्यसैले यसले राम्रो काम गर्न थाल्छ,’ उनले भने ।
उत्सर्जन
मेटाबोलिज्मपछि औषधिले काम गर्ने अन्तिम चरण उत्सर्जन हो । निष्क्रिय औषधि शरीरबाट बाहिर जान्छ । निष्क्रिय औषधिको उत्सर्जन पिसाब वा मल मार्फत हुने डा. पन्त बताउँछन् ।
‘क्लिनिकल फार्माकोलोजिस्टहरूले पिसाब र रगतमा औषधिको मात्रा नाप्छन् । जसबाट व्यक्तिले कसरी औषधि प्रशोधन गरिरहेको छ भनेर गणना गर्न सकिन्छ । उदाहरणका लागि यदि औषधि अपेक्षाकृत छिटो उत्सर्जित हुन्छ भने उच्च खुराक आवश्यक हुन सक्छ । यसरी औषधिले काम गर्छ,’ उनी भन्छन् ।
औषधिमा केही अन्य तत्त्व पनि हुन्छन्
डा. पन्तका अनुसार औषधिले प्रभावित ठाउँका लागि सक्रिय औषधिबाहेक अन्य धेरै सामग्री समावेश गर्छ । औषधिमा अन्य सामग्रीहरू पनि समावेश हुन्छन्, जसले औषधिको स्थिरता, अवशोषण, रंग, स्वाद र अन्य गुण बढाउँछन् । ताकि औषधिले प्रभावकारी रूपमा काम गर्न सकोस् ।
उदाहरणका लागि टाउको दुखाइका लागि लिइने औषधि एस्पिरिनमा पनि यस्ता तत्त्व हुन्छन् । जसकारण औषधि ढुवानीका क्रममा बिग्रेको हुँदैन, तर त्यस्ता औषधिहरू मुखमा लिने बित्तिकै पग्लिन थाल्छ ।
कतिपय औषधि सिधै प्रभावित ठाउँमा दिइन्छ
कतिपय औषधिहरू यस्ता हुन्छन्, जो पेटमा पग्लिंदैनन् भने केही औषधि बिस्तारै पग्लिन्छन् । केही कम घुलनशील हुन्छन्, जसकारण तिनीहरूलाई बारम्बार लिनुपर्छ । त्यसैले पेटको पाचन प्रक्रियाबाट बच्न, केही औषधिहरू सिधै रगतमा सुईमार्फत दिइने डा. पन्त बताउँछन् । ‘उदाहरणका लागि ‘मोनोक्लोनल एन्टिबडी’हरूले क्यान्सर ट्युमर कोषिकालाई मार्ने विशेष प्रोटिनहरू समावेश हुन्छ । यदि यो औषधि पेटको माध्यमबाट शरीरमा पुग्छ भने पेटले यसलाई अन्य प्रोटिनबाट छुट्टाउन सक्दैन,’ उनी भन्छन् ।
छालाको लागि क्रिम, आँखाको लागि आईड्रप वा फोक्सोको लागि इनहेलर जस्ता औषधि सिधै प्रभावित क्षेत्रमा पुर्याइन्छ । डा. पन्त भन्छन्, ‘मुखबाट खाने औषधि सही समयमा र सही मात्रामा लिनु धेरै महत्त्वपूर्ण हुन्छ । यस्तो अवस्थामा डाक्टरले मात्र बिरामीको अवस्था अनुसार सही खुराक निर्धारण गर्न सक्छन् । कतिपय औषधि बिरामीले आवश्यकता महसुस गरेपछि मात्रै लिनुपर्छ ।’