अहिले ‘सिंगल प्यारेन्टिङ अर्थात् एकल अभिभावकत्व भन्ने शब्द निकै सुनिन्छ । विकसित देशमा मात्रै होइन, नेपाल र भारतमा पनि पछिल्लो समय एकल अभिभावकत्वको चलन बढिरहेको छ ।
यसअघि आमा वा बुवामध्ये एक जना कुनै परिस्थितिवश हराएमा वा मृत्यु भएमा एकल अभिभावक बन्नुपर्ने बाध्यता थियो । त्यतिबेला एकल आमा वा बुवाले बालबालिकाको हेरचाह गर्थे । उनीहरूलाई एकल अभिभावक भन्ने चलन थिएन ।
पहिले कुमारी आमाको कल्पना पनि गरिएको थिएन, सभ्य समाजमा कुमारी आमालाई निकै घृणित शब्द मानिन्थ्यो, तर अहिले यो शब्द सामान्य बनेको छ । अहिले यो चलन र स्टाटसको सिम्बोल बनेको छ ।
अविवाहित पुरुषको अवस्था पनि उस्तै थियो, तर अहिले समय फेरिएको छ । त्यतिबेला विवाहित जोडीलाई मात्र सन्तान जन्माउने अधिकार थियो । श्रीमान् श्रीमती दुवैले सन्तानलाई सँगै हुर्काउने गर्थे, एकल अभिभावकले हुर्काउने चलन थिएन ।
पहिले दुईजना विवाहित महिला भेट्दा एउटी महिलाले आफ्नो छोरालाई देखाएर भन्ने गर्थे, बुवा बाहिर गएका छन्, उसले मैले भनेको कुरा सुन्दैन र धेरै दुःख दिन्छ । यसको मतलब आमाबाबु एक्लै होइन, सहकार्यमा छोराछोरी हुर्काइरहेका छन् । तर अहिले एकल महिला वा पुरुषले एक्लै बच्चा हुर्काइरहेका छन् ।
युरोप र अमेरिकामा दुई प्रकारका एकल अभिभावक हुन्छन्, विवाहपछि सम्बन्धविच्छेद गरेर एकल अभिभावक बनेका र अविवाहित भएर सन्तान जन्माएका । बच्चालाई आफूसँगै राख्ने चाहनाले सम्बन्धविच्छेदपछि सन्तानको रेखदेखलाई लिएर पति-पत्नीबीच पटक-पटक झगडा हुने गर्छ ।
सन् २००९ मा रुसमा ७ लाख सम्बन्धविच्छेद भएको आँकलन छ । अमेरिकामा सन् १९६० मा एकल अभिभावकको संख्या ९ प्रतिशत थियो, जुन सन् २००० मा बढेर २८ प्रतिशत पुगेको छ ।
एक करोड ५० लाख बालबालिकाको हेरचाह आर्थिक अभावमा गरेको पाइन्छ । विवाहित जोडीको औसत आम्दानी करिब ८ लाख डलर र एकल आमाको औसत आम्दानी २४ हजार डलर रहेको छ । चीनमा १९औं शताब्दीमा १५ वर्षको उमेरमा सम्बन्धविच्छेदका कारण करिब ३३ प्रतिशत बालबालिकाले बाबु वा आमा गुमाएका थिए ।
सन् २०१० मा अमेरिकामा जन्मिएका सबै बालबालिकामध्ये ४०.७ प्रतिशत अविवाहित आमाबाट जन्मिएका थिए । एक अध्ययनअनुसार विश्वका करिब १५.९ प्रतिशत बालबालिका एकल अभिभावकसँग बस्छन् । अमेरिकी जनगणना ब्युरोका अनुसार ८४ प्रतिशत बालबालिका एकल आमासँग र १६ प्रतिशत एकल बुवासँग बस्छन् । ४५ प्रतिशत आमा सम्बन्धविच्छेद वा श्रीमानबाट अलग बस्दै आएका छन् भने ३४.२ प्रतिशत आमा अविवाहित छन् । विधवा आमाको संख्या १.७ प्रतिशत छ ।
व्यवसायीवर्गले एकल अभिभावकत्वको अभ्यासबाट सबैभन्दा बढी फाइदा लिन्छन् । एकल अभिभावकत्व सभ्य समाजका लागि अभिशाप र व्यापारी वर्गका लागि वरदान हो भनिन्छ । जब श्रीमान श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गर्छ, वकिल र अदालतले काम र पैसा पाउँछन् ।
चर्चित व्यक्तिको सम्बन्धविच्छेद हुँदा मिडियामा यसको धेरै चर्चा हुन्छ । सम्बन्धविच्छेदपछि एकल आमाबाबु (पुरुष र महिला) डाक्टर, मनोचिकित्सक र विवाह सल्लाहकारहरूको कार्यालयमा जान्छन् । यस्तो अवस्थामा डिप्रेसनमा परेका एकल अभिभावकले लागूऔषधको समेत सहारा लिएको पाइएको छ । कतिपयले आत्महत्या समेत गरेका छन् ।