क्यान्सर लाग्नासाथ जीवन सकियो, यो निको नहुने रोग हो, यसले मृत्युको मुखमा धकेल्छ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साहित हुन्छन्, डराउँछन् ।
क्यान्सरको निदान र उपचारको क्रममा बिरामी धेरै डराएका हुन्छन् । यही डर, र सचेतनाको कमीले पनि क्यान्सरका बिरामीहरूले विभिन्न गल्ती गरिरहेका हुन्छन्, जुन हानिकारक हुनसक्छ ।
रोगको बारेमा चिकित्सकसँग कुरा नगर्ने
क्यान्सरको बिरामी उपचार गर्न अस्पताल जाँदा चिकित्सकसँग रोगको बारेमा खुलेर कुरा गर्दैनन् । कुन क्यान्सर हो, कुन स्टेज हो, यसको उपचार प्रक्रिया के हो, उपचारमा कति खर्च लाग्छ लगायत कुरा सोध्दैनन् । डाक्टरले क्यान्सर भयो भनेपछि दु:खी भएर, उपचार हुँदैन भनेर निराश भएर घर फर्किन्छन् । फेरि समस्या धेरै बढेपछि मात्र अस्पताल पुग्छन् । जसले गर्दा छिटो उपचार गर्दा निको हुने बिरामी पनि उपचार नपाएर मृत्युको अवस्थामा पुग्छन् ।
क्यान्सरको लक्षणलाई बेवास्ता गर्ने
क्यान्सर त्यसबेला मात्र घातक हुन्छ, जब यसको लक्षणलाई बेवास्ता गरिन्छ । धेरै बिरामीले शरीरको आकारप्रकारमा आएको परिवर्तनलाई बेवास्ता गर्ने गर्छन् । त्यसैले उनीहरूको क्यान्सरको निदान ढिलो हुन्छ र उपचारमा पनि कठिनाइ हुन्छ । त्यसैले क्यान्सरको कुनै पनि लक्षणलाई बेवास्ता गर्ने गल्ती गर्नु हुँदैन । क्यान्सरको लक्षण देखिएको शंका लागेमा तुरुन्तै अस्पताल गएर जाँच गर्नुपर्छ ।
उपचारलाई बीचमा नै छोड्ने
क्यान्सरको बिरामीले उपचार बीचमै छोड्ने गरेको पनि पाइन्छ । जस्तै, स्तन क्यान्सरको बिरामीले अवस्था हेरेर शल्यक्रिया र किमोथेरापी लगायतका उपचार गर्नुपर्ने हुन्छ । तर शल्यक्रियापछि गाँठागुठी हराएपछि निको भयो भनेर किमो नै नगरी हराउने गरेको पनि पाइन्छ । कतिपय बिरामीले खर्चको अभावमा पनि उपचार बीचैमा छोड्ने गर्छन् । यसरी बीचमै उपचार छोड्ने कारणबारे पनि अध्ययन हुन जरुरी छ ।
चिकित्सकले बोलाएको बेला फलोअपमा नजाने
क्यान्सरको उपचार एकदमै लामो हुन्छ । यस्तोमा केही समय बिरामी अस्पतालमा नै बसेर उपचार गर्नुपर्छ । केही समयपछि भने थप उपचारका लागि चिकित्सकले बोलाएको समयमा अस्पताल पुग्नुपर्छ । तर धेरै बिरामीले चिकित्सकले बोलाएको समयमा फलोअपमा जाँदैनन् । जसले बिरामीको समस्या बढ्न सक्छ । त्यसैले बिरामीले फलोअपमा नजाने गल्ती गर्नु हुँदैन ।
चौबीसै घण्टा आराम गर्ने
क्यान्सरका बिरामीले आराम गर्नुपर्छ भनेर २४ घण्टा आराम गरेको पाइन्छ । तर बिरामीले २४ घण्टा बेड रेस्ट गर्नु हुँदैन । ६ देखि आठ घण्टा आराम गरे पुग्छ । बाँकी समयमा हल्का काम र हल्का व्यायाम गर्नुपर्छ । आराम मात्र गर्दा बिरामीको अवस्था सुधार हुने भन्दा पनि बिग्रिन सक्छ ।