विरोधीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नः ४ जनाको जागिर ठुलो कि राष्ट्रिय स्वाभिमान ?

नेपाल आज फोटोफिचर राजनीति समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको बचाउ गरेका छन् । आइतबार नेकपा एमालेको विधान महाधिवेशनको समापनका क्रममा बोल्दै उनले चार जनाको जागिर राष्ट्रिय स्वाभिमान भन्दा ठुलो हुन नसक्ने जिकिर गर्दै प्रतिबन्धको निर्णय जायज भएको दाबी गरेका हुन् ।

“एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुन अनुसार दर्ता होउ, नेपालमा कर तिर, उत्तरदायी बन भन्दा तिमीहरूको संविधान थाहा छैन, तिमीहरूको मतलब छैन भनेर जवाफ दिएर अटेरी गर्ने,” उनले भनेका छन्, “टेर्नुपर्छ भन्दाखेरि सोकल्ड बुद्धिजीवीहरू अनि चार जना मान्छेको जब (रोजगारी) खोसियो अरे । चार जना मान्छेको जब ठुलो कि राष्ट्रिय स्वाभिमान ठुलो ? राष्ट्रिय स्वाभिमानका लागि चार दिनका लागि चार जनाको जब खोसिन्छ होला । तर फेरि हामी त्यस्ता जबहरू स्थापना गर्ने छौँ ।”

सामाजिक सञ्जाल प्लेटफर्महरू सबै ठाउँमा आएर आफै सञ्चालक, आफै परिचालक अनि आफैँ उपभोक्ता सबै चिज हुन नसक्ने बताउँदै ओलीले उपभोक्तालाई नटेर्दा र मनपरी गर्दा पनि आफूहरूले सहेको दलिल पेस गरे । “तर यहाँ त राष्ट्रलाई नै अपमान गरेर, अटेर गरेर, कानुन संविधान मान्दिन भनेपछि प्रतिबन्ध लाग्या छ । कानुन बमोजिम चल भन्न पनि नपाइने ? संसारमा कुनै देशले यस्तो निरीहता देखाउँछ ? तेरो देशको कानुन मान्दिन, भनेर ठाडै उल्लङ्घन गर्दा पनि चुप लागेर बस्ने देश हुन्छ ?,” ओलीले प्रश्न गरे ।

त्यस्तो देशले राष्ट्रिय स्वाभिमानको कुरा, स्वतन्त्रताको कुरा, स्वाधीनताको कुरा फेरि गर्न नसुहाउने तर्क गर्दै प्रधानमन्त्री ओलीले स्वाधीनता, सार्वभौम सत्ता र स्वतन्त्रता महत्त्वपूर्ण भएको बताए । “स्वतन्त्रता भनेको पहिले हाम्रो मानसिकतामा चाहियो नि हामी स्वतन्त्र छौ भनेर, हाम्रो स्वाभिमान पहिलो कुरा हो । राष्ट्रिय स्वाभिमान छैन भने स्वाधीनता कहाँबाट पैदा हुन्छ ? स्वाभिमान नै छैन भने स्वतन्त्रता कहाँबाट पैदा हुन्छ ? हामी भोकै बसेर पनि हाम्रो स्वाभिमान जोगाएका हौँ । भोकै बसेर पनि नाकाबन्दी सहेका हौँ,” उनले अगाडि भने ।

“त्यसकारण म कमरेडहरूलाई भन्न चाहन्छु कि हामी अरू जुनसुकै कुरा सहन तयार छौँ, राष्ट्रलाई हेपेको सहन तयार छैनौँ । मलाई जसले जतिसुकै हेपे पनि मलाई कुनै मतलब छैन । म हेपिन तयार छु मजाले । तर देशलाई हेपेको सहन सकिदैन । त्यसकारण म सबैलाई आग्रह गर्न चाहन्छु हाम्रो देशलाई हेप्न नखोज, हाम्रो देशलाई होच्याउन नखोज हाम्रो स्वाभिमानमा ठेस पुर्‍याउन नखोज ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *